काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्मै चल्ने दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेले मिलेर बनाएको सरकार लामो सयमसम्म चलेका दृष्टान्तहरु पनि रहेको बताए । उनले भने, “विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मोनमोहन अधिकारी नेतृत्वको सरकारबाट पनि पुष्टि हुन्छ । यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ ।”
ठूला पार्टीहरु मिलेर सरकार बनाउँदै गर्दा जनताले बेनिफिट पनि पाउनु पर्ने बताए । २०४८ र २०७० मा संविधान पाएको भन्दै उनले वर्तमान सत्ता गठबन्धनले दिनरात नभनि अर्थतन्त्र सुधारका लागि प्रयत्न गरिरहेको महामन्त्री थापाको भनाई रहेको छ ।
उनले भने, “पहिला पनि पाएको थियो । २०४८ सालमा संविधान पायो । २०७० मा पनि संविधान पायो । अहिले के पाउने हो । अहिले केही पाउनुपर्देन सबै कुरा सम्हाल्छौं । अहिले सबै भन्दा बढी बिग्रेको अर्थतन्त्र हो । अर्थतन्त्रको क्षेत्रमा ठोस सुधार हुनुपर्छ । अनि मात्रै दुई पार्टी मिलेर बनेको सरकारको अर्थ रहन्छ ।”
अर्थतन्त्रमा धेरै कुरा बिग्रीएकाले थोरै समय लाग्ने तर वर्तमान सरकारले सबै सम्हाल्ने महामन्त्री थापाको जिकिर छ ।
