काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहनेगरी मनोनयन पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।
आयोगले बिहिवार राजनीतिक दलहरुलाई एक निर्देशन जारी गर्दै आयोगको यही ३० गते बसेको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ ।
“स्थानीय तहमा रिक्त रहेका गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,” निर्वाचन आयोगद्धारा राजनीतिक दललाई जारी गरिएको निर्देशनमा उल्लेख गरिएको छ ।
आयोगले यस अघि नै उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
