काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री एवम् प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाउने पार्टीको निर्णय बदरको माग गर्दै रास्वपामा पुनरावेदन दिएका छन् ।
रास्वपाले असार २५ गते ढकाललाई पार्टीको हित, आचरण प्रतिकुल हुने गरी कार्य गरेको भन्दै निलम्बन गरेको थियो । साथै रास्वपाले भदौ ११ गते उनलाई साधारण सदस्यबाट समेत बर्खास्त गरेको थियो ।
रास्वपाले साधारण सदस्यबाट समेत बर्खास्त गरेपछि रास्वपाविरुद्ध सामाजिक सञ्जालमा विषवमन गरिरहेका ढकालले भने अहिले पुनरावेदन दिएका छन् । उनले आफूलाई हटाउने निर्णय दल सम्बन्धी कानुन र पार्टीको विधान विपरित रहेको दाबीसहित उनले रास्वपामा पुनरावेदन दिएका छन् ।
“म पुनरावेदकविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दुषित अभिप्राय एवम् उद्देश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवम् कानुन विपरित केन्द्रीय समितिको बैठक बसी म उपर कारबाही गर्दा सफाई पेश गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराई मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी २०८१–३–२५ को कथित निर्णय त्रुटीपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिम साविककै पदिय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाई पाउँ,” ढकालले रास्वपामा पुनरावेदन गरिएको पत्रमा उल्लेख गरिएको छ ।
