विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।
शुक्रबार कोशी प्रदेश सरकारमा सहभागी भएका माओवादी केन्द्रका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् । मन्त्रीले राजीनामा बुझाएसँगै माओवादी सरकारबाट बाहिरिएको हो ।
माओवादीबाट कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती, स्वास्थ मन्त्रीमा राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जामगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा बन्दना झागड थिइन् । चारै जना मन्त्रीले आज सामूहिक राजीनामा दिएका हुन् ।
गत असार १७ गते केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता समिकरण भएपनि कोशी प्रदेशमा भने माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको थिएन् । तर, आज भने माओवादी मन्त्रीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने बताएपछि केन्द्रमा सत्ता समिकरण फेरिए पनि आफूहरु प्रदेशमा सरकारमा बसेको तर अहिले कार्कीले सहमतिको सरकार बनाउन नसकिने बताएपछि आफूहरु सरकारबाट बाहिरिएको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले बताए ।
माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको छ । समर्थनको विषयमा भने संसद चालू भएपछि निर्णय गर्ने नेता आङ्बोले बताए । उनले आफूहरु सरकारबाट बाहिरिए पनि प्रदेशसभामा प्रतिपक्षमा बसेर जनताको आवाज बुलन्द गर्ने बताए ।
