विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी भएका नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् ।
माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादीका मन्त्रीहरुले सोमबार मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन् ।
माओवादी केन्द्रको तर्फबाट कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, पर्यटन तथा वन मन्त्रीमा गणेश उप्रेती र खानेपानी तथा उर्जा मन्त्रीमा नारायण बुर्जामगर थिए ।
केन्द्रमा नयाँ सत्ता समिकरण बनेसँगै माओवादी केन्द्रले कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुको साथै मन्त्रीहरुलाई पनि फर्ता बोलाएको हो । माओवादीका मन्त्रीहरुले राजीनामा बुझाएसँगै मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकर अल्पमतमा परेको छ ।
