काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशान समितिको आज बिहानका लागि बोलाइएको बैठक नै स्थगित भएको छ ।
आज बिहान ८ बजेका लागि बोलाइएको बैठकस्थलको टेबलमा चम्चा, काँटा र स्पेसल खाजाको व्यवस्था गरिनुको साथै डायरी र पाइलट पेनको समेत व्यवस्था गरिएको र बैठक स्थलमा अरु दिन भन्दा फरक दृश्य देखेपछि सांसहरु आश्चर्यमा परेको र प्रश्न उठाएको बताइएको छ ।
बैठक स्थलमा समितिका सदस्यहरुले सभापति रामहरी खतिवडालाई प्रश्न गर्दै के हो ? आज त नयाँ देखियो त भनेर प्रश्न गर्दा सभापति खतिवडाले बैठकमा गृहमन्त्री आउनु भएकाले विशेष व्यवस्था गरिएको जवाफ दिएका जनाइएको छ ।
समितिका सदस्य एवम् कांग्रेस सांसद हृदयराज थानीले समितिमा भीआईपी खाजा कसैले स्पोन्सर गरेको होला भनेर जिज्ञासा राख्नुको साथै अन्य सांसदहरुले समेत चासो राखेपछि छलफलका क्रममा एनजीओका कर्मचारी सभाकक्ष भित्रै रहेको थाहाँ भएको बताए ।
छलफलमा सांसदहरुले समितिमै एनजीओका कर्मचारीहरु खाजासहित उपस्थित हुने कुराले ठूलो अर्थ राख्ने र जनताको हित केन्द्रीत रहेर कानुन बनाउन नसकिने धारणा राखेका थिए । बैठकमा उपस्थित भएका गृहमन्त्री रवि लामिछानेले एनजीओको खाजा खाएर कानुन बनाउने विषय उचित नरहेको भन्दै बाहिरिएका थिए ।
आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्ध व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्ने कार्यसूची थियो । तर बैठकस्थलमा एनजीओको खाजा ल्याइएको विषयमा सांसदहरुले प्रश्न गरेसँगै गृहमन्त्री लामिछाने पनि बाहिरिएपछि बैठक नै स्थगित भएको हो ।
