काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ सम्मको चुनावसम्म नेपाली कांग्रेस प्रतिपक्षमै बस्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले ०८४ को निर्वाचसम्म नेपाली कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताए । चुनावमा जाँदाको प्रतिबद्धता अनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलले प्रतिबद्धता बिर्सिदा कांग्रेस प्रतिपक्षमा पुगेको उनले बताए ।
उनले भने, “कांग्रेस सरकार बनाउने र गिराउने चाहनामा छैन् । कांग्रेस जनताका विषयलाई लिएर अघि बढ्छ । सरकार र शक्तिका आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्न पाइँदैन् ।”
फरक प्रसंगमा महामन्त्री थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गरेको बताए । ओलीले महिला भएकै कारण त्रिदेशीय अभिव्यक्ति दिएको भन्दै महामन्त्री थापाले ओलीको अभिव्यक्ति विभेदपूर्ण, गलत र घृणायुक्त भएको बताए ।
कांग्रेस प्रतिपक्षमा बस्दै गर्दा एमाले, माओवादी केन्द्र लगायत दलहरुसँग कुरा गर्न छाड्न हुने भन्ने नहुने महामन्त्री थापाको भनाई रहेको छ ।
